ताप्लेजुङ,   दावा शेर्पा, १३ असोज , ताप्लेजुङको मेरिङदेन २ सान्थाक्राको खाम्साक्पामा ञ्युङने (निराहार ब्रत)सुरु भएको छ । अस्टमीदेखि तीन दिन सम्म सञ्चालन हुने ञ्युङने असोज १४ गते समापन हुनेछ । लामा दावा ओङजु शेर्पाको अगुवाईमा विगत २०६९ सालदेखि यो ब्रत आफ्नै निजी घरमा सञ्चालन गर्दै आईरहेको छ । ञ्युङने ब्रतको सुरु गर्दा ४५ जना सहभागी भएको थियो । अहिले ८५ जना ब्रतालुहरु ञ्युङने बसी रहेका छन् । सान्थाक्रामा कुनै पनि सार्वजानिक गोन्पा नभएकोले पनि आफ्नो निजी घरमा सञ्चालन गर्दै आएको लामा बताउनु हुन्छ । आफ्नो परिवारको एकल लगानी र ब्रत बस्न आएको ब्रतालुहरुको सहयोगमा यो पूजा सञ्चालन गर्दै आएको हो । दक्षिण भारतको नाम्ड्रोलिङ बौद्ध विश्व विद्यालयमा अध्ययन गरी इलामको माबुमा तीन बर्षको लोसुम तपस्या बसी गाउँ पर्किए पछि लामाले गाउँमा बौद्ध धर्मको धार्मिक परिवर्तनको लागि उदाहरणिय कामहरु आरम्भ गरेका हुन । विगतमा कुनै मानिसको मृत्यु भएमा मृतकको लास निकाली सके पछिको कालो बर्खन्त र घेवा (सुद्धाई कार्य) मा मासु नभई नहुने परम्परालाई समेत लामाले परिवर्तन गरेका छन् । घरमा पूजा हुदा सोही दिन लामा घर पूजा र झाक्रीलाई गोठ पूजा गरी प्राणी हत्या गर्ने चलनलाई समेत निरुत्चाहित गर्दै लगेका छन् । तथापी पुस्तौदेखि धामी झाक्रीमा आस्था राख्दै आएको मानिसको सोचाईमा एकै पटकमा परिवर्तन गर्न निकै चुनौतीपूर्ण रहेको लामाको भनाई छ । लामा दावा ओङजुले बुद्धजयन्तीको अवसरमा गाउँभरी त्रिपिटक परिक्रमा (छ्योकोर)आयोजना गर्दै आएको छ । सामाजिक सत्भाव र एकताको लागि सामुहिक लोसार समेत आयोजना गर्दै आएको छ ।


सबै समाचारहरु