ल्हाबब दुछेन (देवलोक अवतरण महोत्सव) को महत्व


शान्तिका महानायक भगवान् शाक्यमुनि बुद्धले सत्वहरूलाई दुःखको भाव सागरबाट मुक्त गराउनको लागि विभिन्न प्रकारको लीला (कार्य) हरू प्रदर्शन गर्नु भए तापनि बौद्ध परम्परामा विशेष गरी १२ प्रकारको लीलाहरू प्रमुख लीला (कार्य) को रुपमा मानिन्छ । जसमध्ये ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण महोत्वसव पनि एक हो । यो महोत्सव भोट पात्रो अनुसार हरेक वर्ष ९ औं महिनाको कृष्णा पक्ष सप्तमीमा पर्दछ । यस वर्षको ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण महोत्वसव कार्तिक १४ गते बुधबारको दिन परेको छ ।
आज भन्दा करिब २५६२ औं वर्ष पहिला नेपालको तराई भेग भारत र नेपालको सिमान सुनैलीबाट करिब २५ किलो मिटरको दूरी रहेको लुम्बिनीमा महाराजा शुद्धोदन र महारानी मायादेवीको सुपुत्रको रूपमा राजकुमार सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमार सिद्धार्थ गौतमको जन्म भएको सातौं दिनमा महारानी मायादेवीको देहान्त भइ तुषित देवलोकमा जन्मनु भएको थियो । माता मायादेवीको देहान्त पश्चात् सिद्धार्थ गौतमको पालनपोषण उहाँकी बहिनी प्रजापति गौतमीले गर्नु भएको थियो । राजकुमार सिद्धार्थ गौतमलाई राजदरवारमा विभिन्न भौतिक सुख सम्पन्न रहेको स्थान उपलब्ध गराई दिदा पनि सबै भौतिक सुख परित्याग गरी २९ वर्षको उमेरमा प्रव्रजित हुनु भएको थियो । तत् पश्चात् आध्यात्मिक अभ्यासको क्रममा भारतको विहार प्रदेशको उरुवेल गाउँको नैरन्जन नदीको किनार (बोधगया) मा ६ वर्षको कठोर ध्यान साधनापछि ३५ वर्षको उमेरमा बोधिज्ञान प्राप्त गर्नु भएको थियो । बोधिज्ञान प्राप्त पश्चात् शाक्यमुनि बुद्धले विभिन्न स्थानमा धर्म प्रवचन दिनु भएको थियो ।
शाक्यमुनि बुद्ध ४१ वर्षको उमेरमा आफ्नो माता मायादेवीले तुषित देवलोकमा जन्म लिनु भएकोले उहाँलाई धर्म प्रवचन गर्नका निम्ति तुषित देवलोकमा पाल्नु भएको थियो । उहाँले देवलोकमा आफ्नो माता र देवताहरूलाई प्रवचन दिनु भएको थियो । त्यस बेला श्रावस्तीका भिक्षुहरू सबै एकै साथ वर्षाबासमा रहेको थियो । मगधका राजा बिम्बिसार र श्रावस्तीका राजा प्रसेनजितलाई शाक्यमुनि बुद्ध कहाँ रहनु भएको थाहा नभएपछि भिक्षुहरूलाई सोधपुछ गर्दा भिक्षुहरूले अहिले उहाँ तुषित देवलोकमा आफ्नो मातालाई प्रवचन दिइरहनु भएको छ भन्नु भएको थियो । बुद्धका अनुयायी र राजाहरूले भिक्षुहरूलाई शाक्यमुनि बुद्धलाई जम्बुद्वीप (मुनष्यलोक) मा आमन्त्रणा गर्नका लागि धेरै अनुरोध गरेपछि बुद्धको शिष्याहरूले बुद्धलाई देवलोकबाट मुनष्य लोकमा आमन्त्रणा गर्नु भएको थियो ।
शाक्यमुनि बुद्धले उहाँहरूको आमन्त्रणालाई स्वीकार गरी कार्तिक कृष्णा पक्षको सप्तमीका दिन देव, मनुष्य सपरिवार चमत्कार सीढीबाट मनुष्य लोकमा पाल्नु भएकोले यस दिनलाई बौद्धमार्गीहरूले ल्हाबब दुछेन अर्थात् देवलोक अवतरण महोत्सव दिवसको रूपमा मान्ने गर्दछ । यसै उपलक्ष्यमा शिष्यहरूले एक चैत्य स्थापना गर्नु भएको थियो । सो चैत्यलाई देव अवतरण चैत्य (ल्हाबब छ्योर्तेन) भनिन्छ ।
विशेष गरी यस दिन बौद्धमार्गीहरूले साक्षात् बुद्धको रूपमा विश्वास गरिने चैत्य, मणिहरूलाई सरसफाई गरी रङ्गाउने र पञ्च रंगी ध्वाजा, पताका लगाई पाठपूजा प्रतिष्ठान (राब्ने) गर्ने प्रचलन रहेको छ । साथै गोन्पा, चैत्य जस्ता पवित्र स्थानहरूमा पाठपूजा, धार्मिक प्रवचन आदि कार्यक्रमको पनि आयोजना गर्ने गरिएको पाईन्छ ।


सबै लेख/रचनाहरु