सोलुदुधकुण्ड नगरपालिकाको बजेट ४३ करोड ९२ लाख

0
3452

सोलुखुम्बु, ६ असोज । सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाको पहिलो नगर सभाले ४३ करोड ९२ लाख ५१ हजार बजेट पारित गरेको छ । नगर सभाबाट पारित भएका निति तथा कार्यक्रम मेयर नाम्गेलजाङबु शेर्पाले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका हुन् ।
मेयर शेर्पाले नगरपालिकाको चालु आर्थिक वर्ष २०७४/७५ को बजेट तथा कार्यक्रम समेत प्रस्तुत गरेका थिए । नगरपालिकाले शिक्षा, स्वास्थ्य, भौतिक पुर्वाधार विकास, सडक र पुल, सहरी विकास, खानेपानी र सरसफाई, प्रकोप व्यवस्थापन, कृषि तथा पशुपालन, राजश्व व्यवस्थापन, नगर प्रहरीको व्यवस्थापन, शुसासन प्रर्वद्धन, सुचना तथा संचार, वन तथा वातावरण, यूवा रोजगारी, ऊर्जा, उद्योग, भूमि सुधार निति, खेलकुद, श्रम निति, सहकारी, दररेट निर्धारण, भुकम्प पछिको पुर्न्निर्माण, सवारी नियमन, लक्षित वर्ग कार्यक्रम, जेष्ठ नागरिक, दलित, आदिवासी, जनजाती, अल्पसंख्यका पक्षमा लोकप्रिय निति तथा कार्यक्रम अवलम्बन गर्ने भएको छ ।
नगरपालिका भित्रका १० वटै वडामा एम्बुलेन्स र दमकल पुग्ने गरि सडकको स्तरन्नति गर्ने, नगर प्रहरीको व्यवस्थापन, ७० वर्ष नाघेका बृद्धबृद्धा र क वर्गका अपांग नागरिको स्वास्थ्य विमा निःशुल्क गरिदिने कार्यक्रम समेत नगरसभाले पारित गरेको छ । त्यस्तै, सडक सञ्जाललाई टोल टोलमा विस्तार गर्नका लागि डोजर खरिद गर्ने कार्यक्रमलाई पनि लोकप्रिय कार्यक्रम मानिएको छ ।नगरपालिका भित्रका सम्पुर्ण खोलाहरुमा पक्कि पुलको काम गाल्ने, उज्यालो नगरको परिकल्पना सहित अभियान संचालन गर्ने, क्लिन ग्रिन दुधकुण्ड अभियान संचालन गर्ने, एक वडा एक खेलमैदान, हरेक स्वास्थ्य चौकी र विद्यालयमा विद्युतिय हाजिरी र सिसिटिभीको व्यवस्था गर्ने कार्यक्रम समेत पारित गरिएको छ । यसैगरी, हरेक वडालाई ईन्टरनेट पहूँचमा पुर्याई वाईफाई जोनको निर्माण गर्ने, सवारी कर नियमनका लागि नगर प्रवेशद्धार साल्मेमा विद्युतिय ढाटको व्यवस्था लगायतका दर्जनौ कार्यक्रमलाई नगरको विकास र सम्बृद्धि संग जोडिएर महत्वका साथ हेरिएको छ ।
सडक निर्मँण, पक्कि पुल निर्माण, शिक्षा, कृषि तथा पशुपालन, विद्युत तथा संचार, स्वास्थ्य, खानेपानी तथा ढल निर्माण, वन तथा वातावरण, महिला, बालबालिका, जेष्ठ नागरिकलाई प्राथमिकतामा राखेर कार्यक्रम तथा बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।