एक महिने बौद्ध शिक्षा प्रवचन

0
2683

मंसिर–२० ÷ काठमाण्डौ
बुद्ध दर्शनको ज्ञान संसारभर फैलीरहेको कुराका बारेमा विभिन्न समय समयमा समाचारहरु बाहिर आइनै रहेको हामीलाई थाहा भएकै कुरा हो । स्वदेशमा मात्र होईन बुद्ध दर्शनको ख्याती विदेशमा पनि उत्तिकै रहेको छ । बुद्ध दर्शनका प्रवद्र्धक गौतम बुद्ध नेपालमा जन्मनुभएको कारण पनि बुद्ध दर्शन नेपालबाट फैलिएको हो भन्दा फरक पर्दैन । यसका साथै ३ सय भन्दा बढि विदेशी नागरीक र ७ सय भन्दा बढी स्वदेशी भक्तजनहरुको बीचमा कपन गुम्बाले  बुद्ध दर्शन सम्बन्धी प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।
नोवेम्बर ५ देखि कपन गुम्बामा सञ्चालन भएको बौद्ध दर्शन प्रवचन कार्यक्रम डिसेम्बर ५ मा सम्पन्न भएको हो । एक महिने कार्यक्रमको अन्तिम दिन गुरुलाई सम्मान स्वरुप तेन्स्यू कार्यक्रम सम्पन्न भएको छ ।
एक महिनासम्म सञ्चालन भएको उक्त कार्यक्रमका प्रवचक गुम्बाका प्रमुख समेत रहनुभएका जोपा रिन्पोछे शेर्पाले गर्नुभएको थियो । तेन्स्यू कार्यक्रममा राम्रा गुणहरुलाई गुरु समक्ष सम्मान स्वरुप चढाउने र गुरुबाट बुद्ध दर्शनका ज्ञानहरु लिएर गुरुको मार्गमा हिड्नका लागी प्रेरित हुने उक्त कार्यक्रमको विशेषता रहेको हुन्छ । बौद्ध दर्शनबाट पुण्य आर्जन गरेर संसारमा प्राणीहरु रहेसम्म सम्पुर्ण प्राणीहरुमा गुरुहरुको कृपा रहिरहोस साथै गुरुको वचनलाई पालना गरिरहेमा बुद्धको दर्शन पनि रहिरहने हुनाले गुरुको वचनलाई सम्मान स्वरुप ग्रहण गर्नुपर्ने उक्त कार्यक्रमले दिनखोजेको ज्ञान हो ।
एक महिने प्रवचनमा गुरुद्वारा प्रवचन भईसकेपछि नबुझेका कुराहरुलाई शिष्यहरुले प्रश्न सोधेर आफ्ना जिज्ञासाहरु मेटाउने गर्दछन् । उक्त प्रवचन कार्यक्रममा बौद्ध दर्शन, विज्ञान तथा ध्यान बारेमा प्रवचन भएको कपन गुम्बाका संयोजक जिन्पा शेर्पाले जानकारी दिनुभयो ।

यो कपन गुम्बाको वार्षिक कार्यक्रम अन्तर्गत पर्ने कार्यक्रम रहेको, जसमा विदेशी नागरिकहरु ३ सय ४० जना र नेपाली ७ सय भक्तजनहरुको सहभागीता रहेको जानकारी संयोजक शेर्पाले दिनुभयो । सन् १९७२ देखि सञ्चालन गर्दै आइएको उक्त कार्यक्रम हाल आएर भक्तजनहरुको सहभागीता उल्लेख्य रुपमा बढेको गुम्बाले जनाएको छ ।
साथै डिसेम्वर ५ मा कपन गुम्बामा शान्तिको कामना गर्दै लामा नृत्य सम्पन्न भएको छ । गुम्बाको प्राङ्गडमा उक्त नृत्य भएको थियो । विदेश तथा स्वदेशी भक्तजनहरुको उल्लेख्य सहभागीता रहेको कार्यक्रममा ६ वटा लामा नृत्यहरु प्रस्तुत गरीएको थियो । त्यससँगै शेर्पा स्यप्रो नृत्य पनि प्रस्तुत गरीएको थियो ।
लामा नृत्य पनि कपन गुम्बाको वार्षिक कार्यक्रम अन्तर्गतको कार्यक्रम रहेको गुम्बाका संयोजक शेर्पाले जानकारी दिनुभयो