न्युयोर्क राज्य सरकारले सगरमाथा दिवस मनाउने ।

0
514

विश्वको सर्वोच्च शिखर सगरमाथा माथि प्रथम पटक मानव पाईला टेकेको ऐतिहासिक दिनको स्मरणमा मनाईदै आएको अन्तरराष्ट्रिय सगरमाथा दिवसलाई यस वर्ष देखि न्युयोर्कको राजधानी आल्बानीमा समेत मनाईने भएको छ । उक्त निर्णय न्युयोर्क राज्य बिधान सभा सदस्य जेनिफर राजकुमारले आज आयोजित बिशेष समारोहमा घोषणा गरेका हुन । हाल अमेरिकामा रहेका साठी जना आरोही हरुलाई सम्मानपत्र र यु एस नेपाल क्लाइम्बर्स् एसोसिएशनका स्वयंसेवक हरुलाई कदर पत्र प्रदान गरिएको थियो । हिम आरोही शेर्पाहरुको अदम्य साहस, त्याग र ईमान्दारिताको सम्मान गर्दै न्युयोर्क राज्यको राजधानी आल्बानीमा सगरमाथा दिवस मनाउन लागिएको प्रमुख वक्ता जेनिफर राजकुमारले बताईन् । नेपाली महावाणिज्यदूत बिष्णु प्रसाद गौतमले सगरमाथा दिवसलाई न्युयोर्कमा मान्यता दिएकोमा नेपाल सरकारको तर्फबाट धन्यवाद ज्ञापन गर्दै आगामी वर्ष देखि सगरमाथा दिवस मनाउन न्युयोर्क स्टेट् एसेम्ब्ली सँग सहकार्य गर्ने प्रतिबद्धता जनाए । यु एस नेपाल क्लाइम्बर्स् एसोसिएशनका अध्यक्ष पासाङ् निमा शेर्पाले हिमआरोहीहरुका लागि गरिएको यो सम्मान प्रति आफु अत्यन्त आभारी रहेको बताउँदै सबैलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रममा संयुक्त राष्ट्र संघका लागि अमेरिकाका स्वास्थ्य राजदूत डा. सिमा क्यारेट्नया, क्वीन्स् बोरो उपसभापति रोन्डा विन्डा, शेर्पा किदुगका अध्यक्ष छिरिङ् शेर्पा, जि पि के फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरे, क्वीन्स् कम्युनिटी बोर्ड सदस्य उर्गेन शेर्पा, आदिबासी जनजाति महासंघका संघीय सभामुख राजकुमार बिष्ट, रोटरी क्लबका डिस्ट्रिक्ट गभर्नर नबराज केसी, सामाजिक अभियन्ता तथा एडवान् नेपालका संस्थापक बिष्णुमाया परियार, विश्व कीर्तिमानी अमेरिकी भेनेसा ओब्रायन लगायत उपस्थित बिदेशी पाहुनाहरुले शुभकामना मन्तव्य राखेका थिए । नेपाल सरकारले मेई २९ लाई अन्तरराष्ट्रिय सगरमाथा दिवस (International Mt. Everest Day) को रुपमा मनाउने निर्णय गरे पछि यस दिवसलाई विश्वका विभिन्न देशका पर्वतारोहीहरुले मनाउदै आई रहेका थिए । विगतका वर्षहरुमा न्युयोर्कमा पनि यू एस नेपाल क्लाईम्वर्स एसोसिएशनले न्युयोर्क स्थित नेपाली महावाणिज्य दूतावास, American Alpine Club, Explorer Club of USA, New York City Outbound र United Sherpa Association जस्ता संस्थाहरु सँग सहकार्य गरी सगरमाथा दिवस मनाउँदै आईरहेको कुरा यु एस क्लाइम्बर्स् एसोसिएशनका महासचिब मिङ्मार लामाले बताए । मीस् नेपाल नर्थ अमेरिका विजेता गरिमा ज्ञवालीद्वारा संचालित कार्यक्रममा विविध नेपाली सँस्कृति झल्कने कार्यक्रमहरुका साथमा भने स्व. तेन्जिङ् नोर्गे शेर्पा र एडमन्ड हिलारीका सुपुत्रद्वय पिटर हिलारी र नोर्बु तेन्जिङ् शेर्पाका भिडिओ सन्देश तथा हिमारोहण संबन्धित श्रब्य दृश्यहरु प्रदर्शन गरिएका थिए । @ ureen sdherpa,