प्रज्ञापारमिता सूत्र अनुवादको कार्य राष्ट्रिय आध्यात्मिक गौरवको विषय हो

0
2226

यतिवेला बुद्ध वचन अनुवाद समिति नेपालले प्रज्ञापारमिता जस्ते गहन र गम्भिर ज्ञान भएको सुत्रलाई भोट भाषाबाट नेपाली भाषामा अनुवाद गर्ने कार्यमा जुटिरहेको छ । अनुवाद कार्य ४० प्रतिशतले सम्पन्न भैइसकेको भनेर जानकारी भएपछि हामी अनुवाद समिति नेपालका अध्यक्ष टिका शेर्पा लामालाई भेट्न उहाँकै कार्य कक्षमा पुगका थियौ । टिका शेर्पाका हाल सम्ममा २८ वटा भन्दा बढि अनुवादित पुस्तक प्रकाशन भैइसकेका छन् । बुद्ध वचन अनुवाद समिति नेपालले प्रज्ञापारमिता सुत्रको नेपालीमा अनुवाद कार्य कसरी अगाडी बढिरहेको छ भनेर जान्नका लागी यसै पत्रिकाका प्रवन्ध निर्देशक विक्रम लम्सालले संस्थाका अध्यक्ष टिका शेर्पासँग गर्नुभएको कुराकानी जस्ताको त्यस्तै ः

प्रज्ञापारमिता सूत्र अनुवादको कार्य कति सकियो र अव कति बाँकी छ ?
धन्यवाद, प्रज्ञापारमिता सूत्रको अनुवाद कार्य लगभग ४० प्रतिशतले सकिएर हामी ४१ प्रतिशतमा छौ । यो राष्ट्रिय गौरवको अध्यात्मिक परियोजना भएको हुनाले, यसमा हामी गम्भिरताका साथमा लागी रहेका छौ । अनुवादको कार्यमा दैनिक १० देखि १२ जना खटिरहनुभएको छ । र विभिन्न गुम्बाबाट विभिन्न खेन्पो, आचार्य, लोचवा अनुवादक ज्यूहरुबाट यो कार्य तिव्र रुपमा अगाडी बढिरहेको छ ।
यो अनुवादको कार्य पहिले कपन गुम्बामा पनि भएको थियो, पाटनको चाकुपाट, अनि हाम्रो बौद्धमा गरेर तीन ठाउँमा अनुवादको कार्य चलिरहेको थियो तर त्यसो गर्दा अनुवादमा एक रुपता नआउने हो की भन्ने डरले हामी अहिले एकै ठाउँमा बसेर अनुवादको कार्य गरिरहेका छौ ।

प्रज्ञापारमिताको मुख्य शिक्षा चाहिँ के हो जानकारी दिनुहोला ?
राम्रो प्रश्न, त्रिपिटक भनेको भदन्त भगवान बुद्धले बुद्धकालमा ८४ हजार धर्मस्कन्द देशना गरेर जानुभयो । त्यसमध्ये ८४ हजार धर्मस्कन्दलाई हामीले तीन भागमा बाडेर हेर्न सक्छौ अभिधर्म पिटक, विनय पिटक र सुत्र पिटक गरि यसरी ती तीन वटालाइ नै त्रिपिटक भनिन्छ । र यो अभिधर्म पिटक, विनय पिटक र सुत्र पिटक अन्तर्गत अहिले हामीले गरिहेको अनुवाद सूत्र पिटक अन्तर्गत पर्दछ । सूत्र पिटकमा भदन्त भगवान बुद्धले शुन्यताको अत्यन्तै गम्भिर शिक्षाको बारेमा बताउनु भएको छ । यसमा अनेकौ अनेक उपमाहरु दिएर वर्णन गर्नुभएको छ । यो अत्यन्तै गम्भिर भएको भएर पनि यति धेरै उपमा दिनुभएको हो । यो संवेदनशील पनि छ, गम्भिर पनि छ व्याख्या गर्नको लागी ।
व्याख्या गर्दा समस्या पनि आउला नी, एकै जनाले मात्र निर्णय लिन नमिल्ने स्थिति आउछ कि आउदैन ?
निश्चय पनि यो गाह्रो कुरा हो, शुन्यताको बारेमा चर्चा गर्नु, सम्यक धर्मको बारेमा चर्चा र व्याख्या सजिलै गर्न सकिदैन । यो भोट भाषामा जसरी व्याख्या गरेको छ हामीले पनि त्यसरी नै व्याख्या गर्ने हो । यसमा हामीले तोडमोड गरेर, थपघट गरेर व्याख्या गर्ने होईन । जसरी आँठौ शताब्दीमा भोटमा भोट भाषामा अनुवाद भएको थियो, त्यहि व्याख्या अनुसार त्यहि कुरालाई आधार मानेर यसको व्याख्या गर्दछौ, व्याख्या भन्दा पनि यसको अनुवाद गर्दछौ । हुवहू अनुवाद गर्ने हो । यसमा हाम्रो टिमले नै सबै कुराहरुको निणर्य गर्ने गर्दछ । एक जनाले मात्र निर्णय गर्ने कुरा होईन ।
अव हामीलाई प्रज्ञापारमिताको बारेमा संक्षेपमा बताइदिनु होस न ?
यसमा प्रज्ञापारमितामा प्रज्ञा भनेको ज्ञान हो र पारमिता भनेको पार गरेर जानु हो । जसरी भदन्त भगवान बुद्धले ६ वर्षको कठोर तपस्या पछि गम्भिर ज्ञान प्राप्त गर्नुभएको थियो । जसमा शुन्यताको ज्ञान पनि उपदेश गर्नुभएको छ, यस्तो प्रज्ञापारमितामा प्रज्ञा भनेको ज्ञान र पारमिता भनेको ज्ञान प्राप्त गरिसकेपछि यो सबै दुःख रुपी भवसागरलाई तरेर जानुभन्ने बुझिन्छ ।
यो अनुवादको कार्य प्रामाणीक छ भनेर पाठकलाई कसरी विश्वास दिलाउन चाहानुहुन्छ ? कसरी मान्ने की यो अनुवाद प्रामाणीक छ भनेर ।
हजुर यो प्रामाणीक छ भनेर विश्वास गर्न सकिन्छ, यसको विश्वास गर्ने आधारहरु धेरै छन् सबैभन्दा पहिले हाम्रो मुल भाषा संस्कृत भाषाको मुल सूत्र छ त्यससँग तुलना गर्ने गर्छौ, त्यसका साथै भोटभाषालाई पनि मिलाउदै लिएर जाने भएको कारणले र कुनै पनि भोट भाषाको शब्द संस्कृतमा छ कि छैन र संस्कृतको शब्द भोट भाषामा छ कि छैन भनेर मिलाउदै हेर्छौ यसबाट प्रमाण पुराउन धेरै सजिलो हुन्छ । हामीसँग संस्कृत भाषाको विज्ञ पनि हुनुहुन्छ । ती विज्ञ व्यक्तिहरु भएको कारणले हामीलाई त्यति गाह्रो पनि हुदैन् । आठौँ शताब्दीमा भारतका महाविद्धान पण्डितहरुले जुन संस्कृतमा व्याख्या गर्नुभयो त्यसमा पनि हामीले आजसम्म त्रुटिहरु भट्टाएका छैनौ, यसरी हामीसँग २ वटा भाषामा मिलान गरेर गएका कारण त्रुटी नहुने कुरामा हामी ढुक्क छौ । अझ भनौ भने त हामीले भोट र संस्कृत भाषालाई मिलान गरेर गएको करण यो अनुवादित शास्त्र अत्यन्तै मजबुत हुन्छ भन्ने कुरामा ढुक्क छु ।
यो प्रज्ञापारमिता सूत्र अहिले सम्म कति भाषामा अनुवादित भएको छ ?
प्रज्ञापारमिता एक उच्च कोटिको ज्ञान भएको सुत्र हो । यो अत्यन्तै महत्वपुर्ण छ, अहिले सम्म यो सुत्र संस्कृतबाट चाइनिजमा अनुवादभएको छ, जसलाई चाइनिजमा पोरोपोरोमिता भनिन्छ । प्रज्ञापारमितामा सतसहस्रीका प्रज्ञापारमिता, पञ्चभिमसेती प्रज्ञापारमिता, अष्टसहस्रीका प्रज्ञापारमिता यी तिन प्रकारका हुन्छन् । यी तीन प्रकारका प्रज्ञापारमिता मध्ये सुनले रञ्जना लिपीमा लेखिएको प्रज्ञापारमिता नेपालमा बाहेक अन्त कतै तपाँईले पाउनुहुन्न ।
बज्रक्षदिका प्रज्ञापारमिता त्यो प्रज्ञापारमिताको एउटा अनुक्षद हो, यसको चाहिँ संसारको धेरै ठाउँहरुमा अनुवाद भैईसकेको छ, जस्तै जर्मनमा, फ्रान्समा, जापानमा, मंगोलियामा अनुवाद भएको छ । सतसहस्रीका पारमिता जुन यो १ लाख श्लोकको छ यो भोटमा बाहेक अन्त कतै यसको अनुवाद हुन सकेको छैन् । पञ्चभिमसेती प्रज्ञापारमिता पनि २५ हजार पंक्तिको छ, यो पनि भोट बाहेक अन्त कतै अनुवाद हुन सकेको छैन, र अष्ठसहस्रीका पारमिता चाँहि कुनै कुनै ठाँउमा साराशं गरेको देखिन्छ तर अनुवाद भने कतै पनि भएको छैन । यसरी यो तीन बटै सतसहस्रीका प्रज्ञापारमिता, पञ्चभिमसेती प्रज्ञापारमिता, अष्टसहस्रीका प्रज्ञापारमितालाई जसलाई परित्त, मध्यम र विपुल भनेर पनि भनिन्छ, यसलाई आठौ शताब्दी पछि अहिले नेपाली भाषामा, विश्वमा नै पहिलो पटक यो वृहत अनुवादमा हामीले हात हालिरहेका छौ ।
बुद्ध वचन अनुवाद समिति नेपालको भावी योजनाहरु के के छन् ?
बुद्ध वचन अनुवाद समितिले अहिले राष्ट्रिय आध्यत्मिक गौरवको विषय प्रज्ञापारमिताको वृहत अनुवादको काम गरिहेको छ । यो चार वर्षको परियोजना रहेको छ । अहिले १ वर्ष सकिइसकेको छ । अव हामीसँग तीन वर्ष बाकिँ छ । अहिले अष्टसहस्रीकालाई सकेर यसको सम्पादन कार्यमा छौ । अव ३ वर्षमा यो कार्य सकेर पाठकको हातमा यो पुराउने लक्ष्य रहेको छ । साथै यो कार्य सकेपछि पनि फेरी हामीसँग अरु शास्त्रहरु अनुवाद गर्ने कार्यहरु हुन्छन् । हामीले नेपाली पाठकहरुलाई कसरी बुझिने भाषामा शास्त्रहरुलाई प्रस्तुत गर्ने भन्ने हाम्रो मुल कर्म हो यसलाई हामी जारी नै राख्ने छौ ।
अन्त्यमा केहि छन् की ?
अन्त्यमा बुद्ध दर्शन पत्रिका र बुद्ध दर्शन न्यूज डटकम अनलाईको पाठकहरुलाई के भन्न चाहान्छु भने, हजुरहरु देश विदेश जहाँ नै रहनुभएको भएपनि भगवान बुद्धका वचनहरुलाई कहिल्यै पनि नभुलौ, अत्मसाथ गर्रौ र भगवान बुद्धले भन्नुभएको कुरालाई दैनिक जीवनमा उतार्ने कोशिस गर्रौ । सुख र शान्तिका लागी हामीले यो देनिक जीवनमा उतार्नुपर्ने देखिन्छ । साथै हामी युद्ध स्तरमा अनुवादको कार्यमा लागी परिरहेका छौ । तपाँईहरुको सरसल्लाहा, सुझावका साथै सहयोगको पनि अपेक्षा हामी गर्दछौ । अन्त्यमा, प्रज्ञापारमिता जस्तो गम्भिर विषयमा केहि बताउने मौका दिनुभएकोमा तपाँई विक्रम लाम्साललाई पनि कोटि कोटि धन्यवाद ।
बुद्ध दर्शन मासिक पत्रिकाबाट