सप्तकोशीको बाढी सतर्कता तह आसपास, तटीय क्षेत्रमा सतर्क रहन आग्रह,

0
317

२२ साउन, काठमाडौं । सप्तकोशी र यसका सहायक नदीहरुको जलसतह सतर्कता तह आसपास हुने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा सजग हुन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

देशभरको बाढीको अवस्थाबारे जानकारी दिन विभागले जारी गरेको बुलेटिनमा आज र भोलि सप्तकोशी तथा यसका सहायक नदीहरुको जलसतह सतर्कता तह आसपास हुने उल्लेख छ ।

आज र भोलि सप्तकोशी र यसका सहायक नदीहरुको जलसतह सामान्य घटबढ हुने तर सतर्कता तह आसपास नै हुने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाऔं,’ जल तथा मौसम विज्ञान विभागले आज बिहान जारी गरिएको बाढी पूर्वानुमान बुलेटिनमा लेखिएको छ ।

यही साउन १७ गते सप्तकोशीको भंगालो वस्तीमा पस्दा उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराह क्षेत्र नगरपालिकाका करिब २० हजार नागरिक प्रभावित भएका थिए ।

आज सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ कञ्चनपुर र यी जिल्ला आसपासका भई बग्ने नदीहरुमा बाढीको मध्यम जोखिमको अवस्था रहने पूर्वानुमान छ ।

आगामी तीन दिनसम्म भने प्रमुख नदीहरु नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको जलसतह बढ्ने पूर्वानुमान छ । यद्यपि यी नदीहरुको जल सतह भने सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान विभागले गरेको छ ।

आज दिउँसो सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञा विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति भने लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।

@onlinekhabar