काठमाडौँ, विश्व शेर्पा दिवसको अवसरमा पत्रकार सोनाम याङजी शेर्पा सम्मानित हुनुभएको छ । पत्रकारिता क्षेत्रबाट शेर्पा समुदायको भाषा, सांस्कृति र समुदायको हितमा लामो समय योगदान पुर्याएको भन्दै शेर्पा संघ अमेरिकाले शेर्पालाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।
नेपाल शेर्पा संघको सभाहलमा आयोजित एक कार्यक्रमका बिच नगद २५ हजारसहित सम्मानपत्रले पत्रकार शेर्पालाई सम्मान गरेका हुन । पत्रकार शेर्पा गोरखा पत्रिकाको नयाँ नेपालमार्फत शेर्पा भाषाको सह सम्पादक र इन्डिजिनियस टेलिभिजनमार्फत शेर्पा भाषाको कार्यक्रम शेर्वी ञ्येन्ठिन, हिमाली आवज संगै बुद्धको बचन कार्यक्रम संचालन गर्दै आउनुभएको छ ।

पत्रकारितामार्फत समुदायको विकास र राज्यमा पहुँच स्थापित गर्न महत्वपूर्ण भुमिका खेलेकोले सम्मान गर्ने निर्णय गरेको शेर्पा संघ अमेरिकाका अध्यक्ष आङ जाङबु शेर्पाले जानकारी दिनुभयो । पत्रकारिता क्षेत्रमा समुदाय उठ्न नसकेको र पत्रकारिता क्षेत्रमा लागेका युवाहरु केही समयमै पेशाबाट पलायन हुनुपर्ने वाध्यात्मक अवस्थालाई ध्यानमा राख्दै प्रोत्साहन स्वरुप पुरस्कार वितरण गर्ने निर्णय गरेको अध्यक्ष शेर्पाले बताउनुभयो । पत्रकार पुरस्कार पहिलो पटक भएकोले आगामी दिनमा पुरस्कारको राशी र क्षेत्रलाई क्रमशः बृद्धि गर्दै लैजाने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

विश्व शेर्पा संघका अध्यक्ष एडि शेर्पाले पत्रकारिता पेशाले समुदायलाई राज्यको मूलधारमा पुर्याउने भन्नुहुँदै वर्तमान अवस्थामा शेर्पा समुदायका धेरै जना युवाहरु आफ्नो पेशाबाट पलायन हँुदै गएकोमा दुःख व्यक्त गर्नुभयो । पत्रकार उत्पादन गर्न समय लाग्ने भएपनि टिकाउन चुनौति खेप्नु परेकोले आगामी दिनमा सामाजिक संस्थाहरुले यसतर्फ गम्भिर भएर सोच्नुपर्ने बेला आएको अध्यक्ष शेर्पाले बताउनुभयो।

कार्यक्रममा नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पाले समाज रुपान्तरण र राज्यको मूलधारमा पहुँच स्थापित गर्न सञ्चारकर्मीहरुले खेलेको भूमिका सह्राणिय रहेको उल्लेख गर्नुहुँदै, पत्रकारिता पेशामार्फत राम्रो कामको चर्चा र खबरदारी गर्दै समुदायमा योगदान दिइरहेको र पत्रकारितामा क्रियाशिलरहेका व्यक्तिहरुको सम्मानका लागि पुरस्कार स्थापना गरेर शेर्पा संघ अमेरिकाले नयाँ कार्यको शुरुवात गरेको भन्दै अध्यक्ष शेर्पाले खुसी व्यक्त गर्नुभयो । यसैगरि कार्यक्रममा नेपाल शेर्पा संघका उपाध्यक्ष दावा शेर्पा, शेर्पा संघ बेलायतका उपाध्यक्ष ङवाङ येन्तेन ज्ञ्याछो, नेपाल शेर्पा संघका कोषध्यक्ष लगायत विभिन्न संचार माध्यमका पत्रकाहरुको उपस्थिति रहनुभएको थियो ।@sherpasanchar,