पूर्खाको विरासत जोगाउने तर्फ विश्व शेर्पा सम्मेलन केन्द्रित होस्

0
198

२०७६ अश्विन २१, मंगलबार,,

करिब छ महिना अघि हुनुपर्छ, हाल सोलुखुम्बुको लिखुपिके गा.पा. वडा ४, को डुंडा निवासी इन्द्र बहादुर बस्नेतको घरमा निम्तो भयो । बस्नेत जीलाई वहाँको घर भएको ठाउँ सोध्दा ‘डुंडाको बौद्धमुनिको मेरो घर हो भन्नुभयो ।’ मनमा उहाँको घर भएको ठाउँ सजिलैसँग पत्ता लगाइने रहेछ झैं लाग्यो । मसँगैको सोनाम र म बस्नेत जीको घरतिर लाग्यौं । डुंडा छेउको डाँडाबाट लम्की–लम्की  हेरियो बौद्ध कतै देखिन । बस्नेत जीलाई फोन गरेर सोध्दा त त्यो अलि  माथिको विद्यालयदेखि मुनितिरको ‘ढिस्को’लाई नै बौद्ध भनिने रहेछ । अलिअलि खर पलाएको अलिकता उठेको ‘ढिस्को’को दायाँतिर गाउँपालिकाले खनेको सडकले करीब पच्चीस प्रतिशत पुरेको, ओम मणि पद्मे हुम् लेखिएको केही थान ढुंगा छेउमा राखिएको देखेँ । ढुंगामै खोपेर लेखिएकाले मधुरो गरि देखिने अक्षरहरु, त्यही पुरानो लहरे माने स्कुलको मैदान सम्याउदाको माटोले पुरै नदेखिने गरि छोपेको रहेछ । वस्नेत जीसँग यसै विषयमा केही समय कुरा चल्यो । केही स्थानीयसँग पनि कुरा भयो । संरक्षण गर्ने कोही नभएपछि के गर्ने ? हामीले कहिलेकाहीँ पलाएको झार उखेलेर के हुन्थ्यो र ? यहाँका शेर्पाहरु छाडेर गएर अधिकांश शहरिय भए । त्यसैसँग जोडिएर संस्कृति तथा प्रर्यटन मन्त्रालय अन्तर्गत पुरातत्व विभागको पनि प्रसंग चल्यो ।
यस्तै, अर्को प्रसंग महाकुलूङ गापा वडा नं. १ खिरौलेको उकालो बाटोमा जांदै गर्दा बाटोमा एउटा लहरे माने भेटियो । खिरौलेकै लाक्पा जीले भन्नुभयो यो माने धेरै पुरानो हो ।  ऐतिहासिक माने हो । संरक्षणको अभावमा माने पुरै जिर्ण अवस्थामा पुग्यो । क्रमशः भत्कदै गएपछि, बुद्ध वचन लेखिएको ढुंगाका स्लाटहरु केहि सुँगुरको खोरको छानामा, केही आगनमा बिच्छाएको अवस्थामा थिए ।  एक भिक्षु धर्मात्माले ढुंगाको बद्लामा अर्को ढंगा दिएर फेरि यो माने बनाएको रहेछ । त्यतिबेला लामाले धेरै दुःख गरेर मर्मत गरेकाले अहिले भग्नावशेष मात्रै भएपनि देख्न पाइन्छ ।
महाकुलुङ गापा कै छेस्काम भरखरै पुगेर आएँ । यात्रामा सोताङ ३ को भक्त ब. राई, सल्लेरी २ फेराका पासाङ ग्याल्जे शेर्पा र म महाकुलुङकै रमणीय ठाउँ छेस्काममा घुम्दै थियौं । निरन्तर बर्षात हुने, प्राय धुम्मनै रहने, भोलिपल्ट  बिहान अलि मौसम खुल्ला भयो । केही पर हिँडेपछि बौद्ध जस्तैः मन्दिरको आकृति देखियो । त्यहाँ बाक्लो बस्ती कुलुङ र पातलो वस्ती दलितहरु रहेछन । त्यो मन्दिरको बिषयमा सोधिखोजि गर्दा मन्दिर विश्वकर्मको भन्ने थाहा लाग्यो । नजिकै गएर हेर्दा त्यो त बौद्ध पो रहेछ । तर,  जिर्ण अवस्थामा पुगेको रहेछ । छेउमा केहि थान ढुंगामा ओम मणि पद्मे हुम् लेखिएका स्लाटहरु अडेस लगाएर रखिएका थिए । छेउमै शिवलिङग मुर्ति भरखर बनाईसकेको रहेछ । विश्वकर्महरुको वस्ती बड्दै गरेको र शेर्पाहरु विस्थापित भैसकेकाले गर्दा होला शिवलिङग क्रमशः स्थापित हुंदै गरेको र बौद्ध बिस्थापित गएको अवस्था प्रष्टै देखिन्थ्यो । त्यसलाई वरिपरि पर्खालले घेर्ने काम गर्दै थिए । मन्दिर जाने ब्यबस्थित सिढीहरु निर्माण भइरहेको थियो । 

यी त प्रतिनिधिमुलक प्रसंग मात्रै हुन । हिमाली क्षेत्रमा डुल्दा यस्ता जिर्ण अवस्थामा रहेका मौलिकता बोकेको हिमाली समुदायको सांस्कृतिक, धार्मिक र ऐतिहासिक महत्वका सम्पदा, संरक्षणको पर्खाइमा टोलाई रहेझै देखिन्छन् । हिजो कुन दुःखले त्यो भौगोलिक कठिनाईका बावजुद हिमाली समुदायका अग्रज पुर्खाहरुले निर्माण गरे । आज त्यो हाम्रो ईतिहासको विम्ब बोकेको सम्पदामा पलाएको झार उखेलेर फाल्न सकेका छैनौं । न यो विषयमा राज्यको ध्यान नै पुगेको छ । न सम्बन्धित समुदायको कुनै चासो नै छ । पर्यटक पुग्ने बाटोको यस्ता सम्पदा केही केही चिटिक्क झै देखिन्छन् तर पर्यटकको गन्तव्य नपरेको ठाउँमा निक्कै दयनीय अवस्थामा भेटिन्छ ।
रेडियो नेपालले समचारमा प्रसारण गर्दै थियोे  ‘काभ्रेको धनेस्वर मन्दिरमा सुनको गजुर लगाउन जिल्ला समन्वयमा चाडैं सम्पर्क गर्नू ।’ मुलुकै राष्ट्र प्रमुखको यस्तो आदेश हिमाली क्षेत्रका धार्मिक सम्पदाले  कहिले पाउने होला । उपराष्ट्रपतिले दशैको शुभकामना सन्देशमा भने झै बहुधार्मिक, बहुसांस्कृतिक, बहुसभ्यतायूक्त र धर्म निरपेक्ष राष्ट्र भएको महसुस यी हिमाली क्षेत्रका सम्पदाहरुले कहिले गर्ने होला ?
यतिबेला नेपालबाट एक हुल शेर्पा सिक्किममा आयोजना भैरहेको ‘विश्व  शेर्पा सम्मेलन’ नामको कार्यक्रममा सहभागी जनाईरहेका छन् । करिब सबै जसोले आफ्नो पहुँचमा रहेको सामाजिक सञ्जालमा कसैले समूहमा, केहीले आ–आफ्नै मौलिक शैलिमा विश्व शेर्पा सम्मेलनमा भाग लिन गएको भनाइ सहित तस्बिरहरू सप्रेसण गरेको देखियो । तर, सम्मेलनमा उठाईने बिषय के हो ? सम्मेलन महत्व, आवश्यकताका बिषय के हुन ? सम्मेलन पक्ष राष्ट्र नेपालको नै अध्यक्ष रहेको सन्दर्भमा पनि सम्मेलनका एजेन्डाका बिषयमा बृहत छलफल चलाउन नसकेको अनुभूत हुन्छ । हुल बाँधेर त्यसतर्फ जानेहरुले पनि यस सम्बन्धमा ‘चेत’ छ झै लागेन ।
यसै सन्दर्भमा सामाजिक सञ्जालमा एक मित्रको ब्याङग्यात्मक प्रतिक्रिया देखियो “यसपालिको बिश्व शेर्पा मञ्चको सिक्मिम सम्मेलनमा केही होला जस्तो छ । धेरै जान जोडी–जोडी गएको देखियो ।’ यो भनाइले आम समुदायको भावना बुझ्न काफी थियो ।
कुनैपनि संस्था नामले ठुलो हुने होईन । काम र सक्रियताले संस्थाको गरिमा बढ्ने हो । संस्थाको नेतृत्वको दुरदृष्टिपुर्ण लक्ष्य, त्यसलाई पूरा गर्ने लगन, सबैलाई एकताबद्ध गरेर लैजाने कलाले नै संस्था र संस्थाका सदस्यहरुको महत्व बढ्ने हो । जसले मात्र समुदायले खोजेको परिवर्तनको दिन सक्छ । संस्थाको नेतृत्व गर्ने व्यक्तिको पृष्ठभूमि, अध्ययन, चिन्तन गर्ने स्वभाव र बिषय प्रतिको समर्पण भएको नेतृत्वले मात्र समुदायलाई प्रगतिपथमा लान सक्छ । अन्यथा संस्थामा गरिने भाषण बेकारको गीत जस्तो हुन्छ । विश्व शेर्पा मञ्च गठन गर्दा तामझाम पुर्ण गरेपनि गठनको दुई बर्षसम्म एउटा बैठक पनि औपचारिक रुपमा बस्न सकेन । बैठक नै बस्न नसक्ने, बैठकमा भाग लिनु नै ठूलो कुरा भन्ठान्नेले समुदायलाई के योगदान दिन सक्छ ? समुदायमा ढाड्स दिन र गलाभरी खतक लगाएर सामाजिक सञ्जालमा तस्वीर संप्रेशन गर्नेहरुबाट समुदायलाई केही योगदान र्पुयाउन सक्दैन । तथापी थोरै आशा र धेरै निराशाले भरिएको सिक्किम शेर्पा सम्मेलनले आम शेर्पालाई एकताबद्ध गर्दै यावत समस्याका समाधानका उपयुक्त विधि खोज्न सकोस । र, माथि उठाएका विषयहरुलाई समेट्दै हाम्रो पुर्खाले दुःखले अर्जेको ऐतिहासिक सम्पदा र गुम्दै गरेको पहिचानलाई जोगाउन तर्फ समेत सम्मेलनमा व्यापक छलफल हुनु पर्दछ ।

लेखकः हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका निवर्तमान अध्यक्ष शेर्पा समाजवादी पार्टीका केन्द्रीय सदस्य पनि हुन्