लोसारको संक्षिप्त परिचय,

0
793


आचार्य सार्की शेर्पा
पृष्ठभूमि

मानव विकासको क्रममा विभिन्न प्रकारका भाषा, संस्कृति र धर्मको विकास हुन थाल्यो । भौगोलिक अवस्थाको कारणले गर्दा रहन–सहन तथा खानपानमा पनि धेरै भिन्नताहरू देखिन्छ । यस प्रकारका विविधताले गर्दा यो संसार सुन्दर पनि छ । यस संसारमा सबै प्राणीहरूमध्ये उच्चकोटीमा पर्ने मानव समुदायले नै समस्या पनि खडा गरेको छ । देशकाल र परिस्थितिअनुरूप दुःखबाट मुक्त गराउने उद्देश्यले धेरै प्रकारका धार्मिक सिद्धान्तहरू स्थापित भए । यी सबै धर्मप्रति विश्वास राख्नेहरूले आफूलाई पीडा पर्दा राहत पाएको महसुस पनि गर्दै आएका छन् । यसको अलवा विज्ञान र राजनैतिक विकासले पनि केही सहयोग पुर्याउँदै आएको छ । मानव समुदायले विभिन्न चाडपर्वहरू मनाउने क्रममा केहीलाई राजकीय चाडपर्वको रूपमा घोषणा गरी सम्बन्धित देशका राजनेताहरूले विदा दिने व्यवस्था गर्नुको साथै सम्बन्धित पक्षले देशवासीको नाममा शुभकामना आदान–प्रदान गर्ने परम्पराको विकास हुँदै आएको छ ।

लोसार पर्व
विभिन्न प्रकारका चाडपर्वहरूमध्ये नयाँ वर्ष पनि पर्दछ । तर नयाँ वर्षको तिथि भने फरक–फरक रहेका छन् । जस्तै, इस्वी संवत, विक्रम संवत, नेपाल संवत आदि । त्यसमध्येका हिमाली क्षेत्रमा बसोबास गर्ने महायानी बौद्ध अनुयायीहरूले मान्दै आएको लोसार अर्थात् नयाँ वर्ष पनि भोट–पात्रोअनुसार आ–आफ्नो समयानुकूल विभिन्न तिथिमा मनाउने गरेको पाइन्छ ।

लोसारको अर्थ
लोसार, लो भनेको ‘वर्ष’ र सार भनेको ‘नयाँ’ हो, अर्थात् लोसारको शाब्दिक अर्थ के हो भने एक साल समाप्त भएर अर्को नयाँ सालको उदय हुनुलाई बुझिन्छ । हाम्रो समाजमा जान लागेको पुरानो वर्षको विदाई गर्नका लागि लोसार आउनुभन्दा २, ३ दिन पहिलेदेखि लामा गुरूहरू आमन्त्रण गरी भव्य पूजा गर्ने प्रचलन पनि रहेको छ । त्यसैगरी आउन लागेको लोसार अर्थात् नयाँ वर्षको स्वागत् गर्नको लागि आफ्नो गच्छेअनुसार खानपिन र मनोरञ्जनको जमर्को गर्ने गर्दछन् ।

लोसारका प्रकार
नेपालमा हाल १। तो लोसार, २। सोनाम लोसार, ३। ग्याल्पो लोसार गरी तीन प्रकारका लोसारहरू मनाउने गरेको पाइन्छ । उक्त तीन लोसारका नाम र मनाउने महिना फरक–फरक भएतापनि मनाउने विधिमा भिन्नता छैन ।

क)  སྟོད་ལོ་གསར། तोद् लोसार

तोद् लोसार मञ्जुश्री पत्रो अर्थात् भोट पात्रोअनुसार एघारौं महिनाको पहिलो तिथिबाट सुरू हुन्छ । प्राकृतिक रूपमा सूर्य उत्तर दिशातर्फ फर्कने, रूख विरूवाको पालुवा फेरिने र त्यस दिनदेखि रात छोटो र दिन लामो समेत हुने भएकोले यसलाई नयाँ वर्षको रूपमा मानेको पाइन्छ । तोद् लोसार नेपालमा विशेषगरी गुरूङ समुदाय र हुम्ला–जुम्ला क्षेत्रका केही समुदायहरूले मनाउने गरेको पाइन्छ ।

ख)  སོ་ནམ་ལོ་གསར། सोनाम लोसार

सोनाम लोसार तो लोसारको ठीक एक महिनापछि मञ्जुश्री अर्थात् भोट पात्रो अनुसार बाह्रौं महिनाको प्रतिपदाबाट सुरू हुन्छ । सोनाम पा अर्थात् किसानहरूले यो महिनाबाट खेतीपाती रोप्ने कार्य सुरू गर्ने भएको र ग्याल्पो लोसार मनाउने समयमा फुर्सद नहुने भएको हुनाले किसानहरूले यसै महिनामा लोसार पर्व मनाउने गरिन्छ । आठौं शताब्दीमा भोट देशका धर्म राजा ठिसोङ देउचेनले संस्कृतिको विकास गर्ने क्रममा किसानहरूको समयानुकूल लोसार मनाउने परम्पराको शुरूवात गराएको इतिहास पाइन्छ । नेपालका तामाङ र ह्योल्मो समुदायले पनि सोनाम लोसार मनाउने गरेको पाइन्छ ।
ग)  རྒྱལ་པོ་ལོ་གསར། ग्याल्पो लोसार

ग्याल्पो लोसार सोनाम लोसारको ठीक एक महिनापछि मञ्जुश्री अर्थात् भोट पात्रोअनुसार नयाँ वर्ष, पहिलो महिनाको प्रतिपदाबाट सुरू हुन्छ । यो लोसार राष्ट्रिय रूपमा मनाउने भएकोले ग्याल्पो लोसार अर्थात् राजकीय लोसार भनिएको हो । सन् १२२४ मा मङ्गोलका राजा मिञ्येकबाट शासन सत्ता हातमा लिएको विजय उत्सवको रूपमा भोट पात्रोको नयाँ वर्ष प्रतिपदाका दिन यो लोसार मनाउने शुरूवात भएको देखिन्छ । अहिले पनि मङ्गोल परम्पराअनुसार नै मङ्गोल महिना ९होर्दा० को प्रतिपदामा ग्याल्पो लोसार भन्ने प्रचलन रहेको छ । यो लोसार भोट देशको सबै प्रान्तहरूमा मनाउने गरेको पाइन्छ ।

लोसार मनाउने विधिहरू
भोट पात्रोको बाह्रौं महिनाको कृष्णपक्ष चतुर्दशी (ङिशुगु) को दिन घर–आँगनहरू सफा गरी बेलुका सबै परिवार एकसाथ रहेर रमाइलो गर्दै नौ किसिमका खाद्य गेडागुडीहरू मिसाएर पकाएको गुथुक् (थुक्पा) अर्थात् क्वाँटी खाइन्छ । गुथुक खाने क्रममा आँटाको डल्लोभित्र खुर्सानी, कोइला, घ्यू, नुन, कागज आदि राखेर सबैलाई भाग पुग्ने गरी एक–एक वटा पस्किइन्छ । गुथुक खानुभन्दा पहिला त्यो डल्लो क्रमशः एक–एक जनाले खोलेर देखाइन्छ र त्यसको अर्थ लगाउँदै हाँसखेल गरिन्छ । गुथुक खाइसकेपछि दिउँसो घर आँगन सफा गरी फोहोर मैलाहरू कुनै बाँकी नराखी राति नै फाल्ने गरिन्छ । गोन्पा तथा गाउँघरका प्रमुख स्थानहरूमा सामूहिक रूपमा गुथुक कार्यक्रम आयोजना गरी धर्म गुरूहरूबाट विदाई हुने सालको ग्रह–दशा र विघ्न बाधा आदि नकरात्मक तत्वहरूले नयाँ सालमा निरन्तरता नपाओस् र सबैको ग्रह–दशा शान्त भई प्रगतिको कामना गर्दै विशेष पूजा गर्ने गरिन्छ ।
त्यसको भोलिपल्ट औंसीदेखि लोसारको लागि विशेषगरी घरको बाहिर–भित्र सजाइन्छ । घरको भित्ताहरूमा अष्ठमङ्गल, स्वस्तिक आदि चिन्हहरू कोर्ने गरिन्छ । लोसार पूजा तथा अतिथिहरूको लागि रोटी ९खाप्से० पकाउनुको साथै विभिन्न किसिमका मिठाई, फलफूल र गेडागुडीहरू किनेर सजाइने गरिन्छ । नयाँ सालको प्रतिपदाको विहान प्रातकालमा धाराबाट पानी लिएर देवतालाई शुद्ध पानी, धुप र दीप चढाई आगामी वर्षहरूमा सबैको शुभ–मङ्गल होस् भनी प्रार्थना गरिन्छ । त्यसपछि विभिन्न चिजबीज हालेर बनाएको पिठोको परिकार (छेमार) र खाप्से खाने गरिन्छ । घरको आँगन र घरमाथि मन्त्रयुक्त पञ्चरङ्गी ध्वजा–पतका फरफराई सबै जनाले एकैसाथ ‘‘किकी सो सो ल्हा ग्यलो’’ (सुख होस्, सुख होस् । देवताको जय होस् ।) भनि विजयको प्रतीक सेतो पीठो आकाशमा उडाएर रमाइलो गर्ने गरिन्छ । कुलदेवताहरूलाई साङसेरक्येमको पूजा गरी आ–आफ्नो धर्म गुरू, अभिभावकहरू र गोन्पा, चैत्यहरू भएको स्थानमा गएर आशिर्वाद लिन्छन् । त्यसैले यस दिनको लोसारलाई लामा लोसार भनिन्छ ।
दोस्रो दिन द्वितीय तिथिका दिन फेरी गोन्पा वा सार्वजनिक स्थलहरूमा जम्मा भई एक–आपसमा “टासी देलेग” भन्दै शुभकामना आदान–प्रदान गर्दै आफ्नो मौलिक भेषभूषामा सजिएर मिठो खानेकुरा आदान–प्रदान गरी लोसार मनाउने गर्छन् । साथै आ–आफ्नो गाउँठाउँका मान्यजनहरूकहाँ गई आर्शिवाद लिने गर्दछन् । त्यसैले यस दिन मनाउने लोसारलाई ग्याल्पो अर्थात् राजाको लोसार भनिन्छ ।
तेस्रो दिन तृतीय तिथिका दिन दीर्घायू र सबै प्रकारका जीवनमा आईपर्ने विघ्नबाधालाई हटाउनको लागि गोन्पा वा बौद्धको तीर्थ स्थानहरूमा गएर ध्वजा–पतका आदि लगाउनुको साथै जय जयकार गर्दै सातु छर्दै खुशी मनाउँछन् । यसदिन मनाउने लोसारलाई (छ्योक्योङ) धर्मपालको लोसार भनिन्छ ।
यसपछि पनि लगातार पूर्णिमासम्म आफन्त र साथीभाइहरूकहाँ आवत्–जावत् गर्ने क्रम जारी रहन्छ । यसप्रकार पूर्णिमापछि लोसारको समापन हुन्छ । मङ्गोल महिनाको प्रथम तिथिदेखि पूर्णिमासम्म बुद्धले अबौद्धहरूलाई प्रातिहार्य शक्तिद्वारा पराजित गरेको समय पनि पर्ने भएकोले बौद्धहरूको लागि यो महिना अति नै महत्वपूर्ण महिना मानिन्छ ।