सम्पुर्ण प्राणीहरुमा बोधिचित्तको विज रहेको छ

0
27

अध्ययनको शिलशिलामा सन् २०८१ मा नालान्दर उच्च बुद्धिष्ट केन्द्र सिक्किम पुग्नुभएका खेन्पो पि. दोर्जे त्यतिबेला आफु १४ वर्षको रहेको बताउनुहुन्छ । आफ्नो अध्ययन सिक्किममा पुरा गरे पनि अध्ययनको क्रम भने कहिल्यै पनि नसकिने भएकोले आफ्नो अध्ययनलाई बढाउदै अहिले आधुनिक विज्ञान बारेमा रुचि रहेको र यसैको अध्ययनमा लाग्नुभएको बताउने खेन्पो आफुलाई इतिहास र भूगोल पनि रुचिको विषय भएको बताउनुहुन्छ । बुद्ध दर्शनको शिक्षा दिन उहाँले विभिन्न देशहरु भारत, अमेरीका, सिंगापुर, हकंकङ, मकाउ, फिलिपिन्स जस्ता देशहरुमा प्रशिक्षकको रुपमा भ्रमण गरिसक्नुभएको छ । उहाँ खेन्पो पि. दोर्जेसँग बुद्ध दर्शन पत्रिकाले बुद्ध दर्शन मै रहेर दान पारमिता र बोधिचित्तको बारेका कुराकानी गरेको थियो, प्रस्तुत छ कुराकानीको सम्पादित अशं :

दान पारमिताको अर्थ प्रस्ट पारी दिनुहोस् । 
दान पारमिता भनेको बुद्ध भगवानले दिनुभएको सम्पुर्ण उपदेश ज्ञानमा थेरावाद, महायान, बज्रयान हुन्छ । त्यसमा थेरावादमा पनि दान छ, महायानमा अलि यसको विस्तृत रुपमा बताउनुभएको छ । यसको महत्व पनि ठुलो छ । छ वटा पारमिता मध्ये दान पारमिता भनेको प्रथम पारमिता हो । यो प्रतिष्ठान जस्तो हो, त्यसबाट अरु पारमिता फैलने वा उत्पादन हुने हो । थेरावादमा बुद्धले के भन्नुभएको छ भने ‘दानबाट भाग्य आउछ, भाग्य नभई मान्छे बाच्न पनि सक्दैन, भाग्य भनेको जिवित हुनु, शरीर राम्रो हुनु, खानु लाउन पुग्ने हुन्छ त्यसैले दानपारमिताको महत्व छ’ । आज हामीले दुःख पाउने कारण भनेको पहिले हामीले दान नगरेको कारण, हामीले लोभ गरेको कारण हो भनिन्छ । दान गर्यो भने यो जीवन सोचेको जस्तै हुन्छ र पाइन्छ भनेको छ । सबैभन्दा ठुलो पुण्य के हो भनेमा, त्यसमा पाँच किसिमको हुन्छ, गुरुलाई चढाउनु, देवातालाई चढाउनु, बाबु आमालाई चढाउनु, विमारी रोगीलाई चढाउनु, अनि २५३ गुण युक्त भिक्षुलाई चढाउनु सबैभन्दा बढि पुण्य हुन्छ, र त्यसको फल पनि ठुलो हुन्छ । यो थेरावाद अनुसार हो । सामान्य दान चार थरीका हुन्छन्, त्यो पनि कसरी दिने भन्ने कुरा त्यो पनि चार थरीका हुन्छन् । त्यसको लागी पुस्तक नै पड्नु पर्छ तर सामान्यमा, दान पारमितामा चार थरीको हुन्छ, १. वस्तु दान दिनु, २. ज्ञान दान दिनु, ३. डरबाट बचाउनु ४. माया र करुणा दिनु । अब यीनिहरु कसरी दिने यसको पनि तरीकाहरु छन् । एकमा वस्तुहरु कसरी दिने त भन्दा वस्तुहरु दिंदा मेरो सोचँमा भर पर्छ, जस्तै मैले कसैलाई कुनै कुरा दिँए भने केहि भनेर नदिनु भनिन्छ जस्तै, यो वस्तुले यस्तो गर वा त्यसो गर नभन्ने, दिँदा शुद्ध मन बनाएर दिने भनिन्छ । उसले जे गरोस् गरोस् । मैले कुनै कुरा दिन इच्छा छ भने दिई हाल्नु पर्छ, दिएर मैले पश्चताप गरेभने मलाई नै नराम्रो हुन्छ । दुईमा ज्ञान दिने कुरा छ ः ज्ञान दिँदा जबरजस्ती ज्ञान दिन भएन, ज्ञान दिन शब्द पनि राम्रो छनौट गर्नेे, ज्ञान पनि उल्टो दिएमा पाप हो, ज्ञान पनि यस्तो दिनु पर्छ त्यसबाट उसलाई शान्ति हुने, दुःखबाट छुट्कारा पाउने ज्ञान दिनुपर्छ । नजान्ने मान्छलाई ठुलो ज्ञान दियो भने त्यो पनि पाप हो । जसलाई जति चाहिएको छ त्यति मात्र दिने भन्नुभएको छ बुद्ध भगवानले । तीनमा डरबाट बचाउनु छ ः हामी प्राणी दान गर्दछौ नी, यो काट्न आँटेको, मार्न आटेकोलाई मैले बचाँए भने ठुलो धर्म हो । जिवन दान दिइन्छ । हामीले सबैलाई रोक्न त सक्दैनौ तर सय, डेढ सय, हजार, दुई हजार आफ्नो क्षमताले जति सकिन्छ त्यति जीवन दान दिन सकिन्छ । अस्ती हामीले माछालाई जीवन दान दिँदा यसै कुरामा छलफल भयो सानो माछा ५ रुपैँया पर्दो रहेछ ठुलो माछा एउटैलाई २ सय ३ सय पर्ने रहेछ । तर हामीले ठुलो माछा किन्यौ किनभने ठुलो माछालाई उनिहरु पहिलै मार्छन् नि, सानो माछालाई त उनिहरुले अझै पाल्छन नि त त्यसैले हामीले भ्यालु पनि हेर्नुपर्छ । त्यस्तै अन्त्यमा माया र करुणा छ, कसैलाई तपाँईले माया गर्नु दुःख परेको, एक्ले परेको, अतंकित भएको मान्छेलाई गएर माया गनु, सहयोग गर्नु त्यो ठुलो पुण्य हो दानमा सबैभन्दा ठुलो दान नै माया र करुणाको दान हो ।
अकुशल कर्म गर्दै दान पनि गर्दै गरेमा त्यसका फल के हुन्छ ?
यो प्रश्न त यहि समाजका मान्छेहरुको लागी नै भन्नुभयो जस्तो लाग्यो । मैले देखेको पनि छु, अकुशल कर्म गर्नेहरु धेरै छन् । पहिले बुद्धको पुरातात्विक मुर्तिहरु बेच्नु एमदमै ठुलो पाप हो र फेरी पछि त्यहि मान्छेले बुद्धकै मुर्तिहरु बनाएको पनि छ । तर त्यसले पटक्कै धर्म हुदैन । यदि कसै मान्छेले धेरै पाप गरेको छ र पछि त्यसको सोचँमा पनि भर पर्छ, यदि उसले पश्चतापमा परेर, माफ मागेर, मैले यस्तो पाप गरे भनेर पश्चताप गरेर, मैले पहिला नराम्रो गरे भनेर आज स्कुल बनायो, हस्पिटल बनायो समाजमा राम्रो काम गर्यो भने त्यसलाई राम्रो हुनथाल्छ । तर पाप कर्म पनि गर्दै जाने र दान पनि गर्दै जाने हो भने त्यो भनेको फोहोरमा लढुबुडी पनि गर्ने अनि नुहाउने अनि फेरी फोहरमा जाने नुहाउने फेरी फोहोरमा जाने जस्तो हुन्छ । त्यो कहिल्यै पनि शुद्ध हुदैन तर उसले गरेको सहयोग गर्ने कार्य त राम्रो हो तर पाप भने कटिदैन ।
बौधिचित्त भनेको के हो ?
यो बौद्धिष्टको सबैभन्दा ठुलो प्रतिष्ठान नै त्यहि हो । साधारण रुपमा भन्दा, माया र करुणा हो । कसैलाई तपाँईले माया गर्नुभयो भने ठुलो धर्म हो तर मायालाई परिवर्तन गरेर करुणामा बदल्न सक्नुभयो भने त्यो बोधिचित्त हो । माया र करुणामा फरक छ, माया भनेको तपाँईको कोहि मान्छेको दुःख देखेर यो मान्छेलाई दुःख भएछ भनेर सहयोग गर्छु भनेर सोच्ने चाहिँ माया हो । करुणा भनेको चाहिँ एक्सन हो । तपाँईले दुःख भएको मान्छे देखेर गएर सहयोग गरेर दुःखाट मुक्त गराउन कोशिस गर्नु करुणा हो । माया र करुणा उत्पन्न भएको नै बोधिचित्त हो तर बोधिचित्त उत्पन्न गर्न तपस्या लिनु पर्छ । तपाँईमा माया पनि छ, करुणा पनि छ भने तपाँईले गुरुबाट लिनुपर्छ । यो दुई किसिमबाट लिइन्छ । एक गुरुबाट लिने, दुई स्तुपा, चैत्य वा भगवान बुद्धको मुर्ति अगाडी गएर तपस्या लिनुपर्छ वा बोधिचित्त ग्रहण गर्नुपर्छ । शपथ लिएको जस्तै भनौ न ।
के सम्पुर्ण प्राणीमा बोधिचित्त छ ? 
हो, सम्पुर्ण प्राणीहरुमा बोधिचित्त छ, तर अहिले बोधिचित्त लुकेर बसेको छ । हामीलाई के छ भने रिस, लोभ, त्रास आदि अविद्याले गर्दा फेरी हामी सबैको करुणा ज्ञान छोपेको छ । तर त्यसलाई सफा गरेर निकाल्न तथा उत्पादन गर्न गुरु चाहियो, हामीमा विऊँ त छ तर त्यसलाई पानि चाहियो, मल चाहियो, घाम चाहियो त्यसको लागी गुरु चाहिन्छ, र आफ्नो कर्म पनि हुनुपर्छ । बोधिचित्त लिदाँ कसरी लिन्छन् भन्दा गुरुबाट लिइन्छ त्यसपछि हामीले बोधिचित्त दिनदिनै लिन्छ नी त्यो कसरी भन्दा विहान हामीले वा कुनै पनि कार्य गर्न भन्दा अगाडी मैले गरेको सम्पुर्ण पुण्य कार्यहरु चाहिँ म सबै प्राणीलाई मुक्ति दिलाउछु भनेर पढ्नु पर्छ । जे पुजा मा पनि त्यो पढ्नु पर्छ । यसरी बोधिचित्त लिदाँ फेरी बोधिसत्व भयो । त्यसपछि हामीले के लिनुपर्छ भने मेरा शरीरलाई कसैले मार्छु भनेपनि बोधिचित्त म त्यग्नेछैन भनेर सोच्नुपर्छ, मेरो ज्यानमा खतरा आएपनि म अरु प्राणीलाई बचाउछु, एउटा प्राणीलाई पनि म त्याग्दिन, सबै प्राणीलाई एउटै गर्नुपर्छ यदि यसो गर्न सकिदैन भने बोधिचित्त भंग हुन्छ । सबै प्राणीलाई सुख दिन्छु, दुःखबाट छुट्कारा दिन्छु भनेको सपथ लिने नै बोधिसत्व भयो ।

के बोधिसत्वलाई रिस उठ्छ ? 
हो बोधिसत्वहरुलाई पनि रिस उठ्छ । रिसमा पनि तीन थरीको हुन्छ । हाम्रो सामान्य मान्छेको रिस डुंगामा लेखेको अक्षर जस्तो हो, त्यो सय वर्ष दुई सय वर्ष हजार वर्ष सम्म बस्न सक्छ, दानपारमिता लिएको बोधिसत्वहरुको रिस भनेको बालुवामा लेखे जस्तो हो, बालुवामा लेखेमा हावाले एक छिनमा मेटाउछ । प्रज्ञा प्राप्त गुरुहरुको रिस चाहिँ पानीमा लेखे जस्तो हो, पानीमा त लेख्ने वित्तिकै हराउछ नी हो त्यस्तो हुन्छ । प्रज्ञा प्राप्त गुरुमा रिस त हुन्छ तर यो बसिरहदैन । प्राणी भएको कारणले रिस हुनु स्वभाविक नै हो ।
मानिसले कस्तो कस्तो उद्देश्य राखेर बोधिचित्त उत्पन्न गर्ने गर्दछन् ?
बोधिचित्त सबैको एउटै हो । त्यसको के भनम् प्रणाली, पुस्तक अनुसार, विधि अनुसार एउटै हो । बोधिचित्त भने पछि सम्पुर्ण प्राणीलाई म सहयोग गर्छु, सम्पुर्ण प्राणीलाई म मुक्ति दिलाउछु । सम्पुर्ण प्राणीलाई दुःखबाट छुटाउछु भनेर नै पढ्ने हो र अभ्यास पनि त्यसैको गर्ने हो । फरक फरक उद्देश्य भने हुदैन ।
बोधिचित्त वास्तवमा कस्तो खालको मान्छेहरुले उत्पन्न गर्नु आवश्यक छ ?
यो त सबै प्राणीको लागी हो । या नराम्रो प्राणीहरुलाई पनि चाहिँन्छ खास त बोधिचित्त सबैलाई चाहिन्छ त्यो प्राणी भएपछि सबैसँग छ । मैले तपाँईलाई भनेजस्तै बौधिचित्त, ज्ञान छ, सबै कुरा छ , तर हामीलाई अहिले नकारात्मक कुराहरुले छोपेर राखेको छ, जस्तै रिस, लोभ, अविद्याले छोपेको छ । बोधिचित्त सबै प्राणीहरुलाई चाहिन्छ । बोधिचित्त नभईकन कसैले पनि बुद्धत्व, निवार्ण प्राप्त गर्दैन् । अब छोट्करीमा भन्ने हो भने बुद्धत्व प्राप्त गर्न चाहानेहरुलाई बोधिचित्त आवश्यक पर्दछ ।
बोधिचित्तलाई रक्षा, शुद्धि र बृद्धि गर्नको लागी भिक्षुहरुले के कस्तो कुराहरुमा विचार गरिरहनुपर्दछ ?
सुरुमा बोधिचित्त उत्पन्न भिक्षुले आफ्नो दुःख र अरुको दुःखलाई एउटै सोच्छ । त्यो एउटा किराफट्ंग्राले पनि सुख खोजेर कुदीरहेको छ । म मात्र कहाँ हो र ऊ पनि त त्यहि हो भन्ने सोचेर दया उत्पन्न गर्नुपर्छ । बौद्धिष्ठमा के भनिन्छ भने मैले जन्म जन्म लिदाँ फेरी सबै प्राणीहरु मेरो आमा भएको हुन्छ, यो जन्ममा त मेरो आमा अर्को छ, पहिलेको जन्ममा अर्काे थियो । त्यस्तो हुदाँ हुदाँ सबै प्राणी आमा भैसकेको थियो । सोच्दा फेरी सबै प्राणीले दुःख पाइरहेको छ । अहिले आमा प्रति मेरोको ममता छ त्यस्तै सोचेँर सम्पुर्ण आमा प्राणीको आमा एकै हो भन्ने सम्झेर बोधिसचित्तको गुण पनि बढाउदै लाने गर्नुपर्छ । बोधिचित्तलाई नष्ट गर्ने सबैभन्दा ठुलो कुरा भनेको अहंकार र रिस हो । यसकारण यी दुई कुराहरुबाट बच्नुपर्छ ।
अन्त्यमा के भन्नुहुन्छ ?
हाम्रो यो नेपालमा बुद्ध भगवान जन्मिएको लुम्बिनी भयो । मेरो सोँचमा चाहिँ विदेश तिर पश्चिम तिर बौद्धिष्टको धेरै नै चाँसो छ । मान्छेलाई पहिला अलिकति विकास हुन पर्दो रहेछ । खानलगाउन पुगोस् । नेपालमा ज्ञानै ज्ञान छ त्यो लिने प्रयास गर्नुपर्छ । हुन त अहिले नै सबै हुदैन् । किन त भन्दा पहिला मान्छेको स्तर अलि बड्नु पर्छ । शिक्षाको विकास हुनुपर्छ अनि मात्र ज्ञान लिन सकिन्छ । अहिले हाम्रो न्यून आवश्यकता पनि पुरा गर्न कठीन समयमा ज्ञान पनि बुझ्न नसक्ने हुँदो रहेछ । तर यो भनेर मैले ज्ञान नै नलिनुहोस् भनेको होइन । हाम्रा आवश्यकताहरु पुरा गर्दै ज्ञानहरु प्नि लिन सकियो भने धेरै राम्रो हुन्छ । मैले पनि भविष्यमा सजिलोसँग बुझ्ने किताव बनाउन खोज्दै छु । सजिलो किताव त सबैले पढ्न सक्छन् नी, छोटो र सजिलो बनाउने मेरो आशा हो । हामी नेपाली मान्छे धेरै राम्रो हो, हामी पहिले देखि नै राम्रो हो । अहिले अलि समस्या छ अर्थिकको समस्या, धेरै समस्या परेको कारणले बाटो विराएको मात्र हो । हामी नचाहिने बाटोमा लाग्यो खास हाम्रो नेचर नराम्रो चाहिँँ होइन । नेपालीको नेचर धेरै राम्रो हो, त्यसकारण हामीले बाटो नविराऊ । पछि धेरै राम्रो हुन्छ । धन्यवाद ।